वर्षालाई लिएर मोदीबेनी सुरु

काठमाडौं । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार पूजा गर्दै फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात मङ्गलवार नै फिल्म युनिट छायाङ्कनमा निस्किएको छ ।

फिल्ममा अभिनेत्री वर्षा शिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । शिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नवअभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् ।

फिल्मको टिमको काम गर्ने तरिका र यसको स्क्रिप्ट मन परेर आफूले फिल्ममा अभिनय गर्न लागेको सिवाकोटीले बताइन् ।

ओजस थिएटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् ।

यस फिल्मबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । उनले पछिल्लो फिल्म ‘वरदान’मा ‘लिड रोल’मा अभिनय गरेकी थिइन् । उप्रेतीले यस फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् ।

अभिनेता सरोज खनालले पनि फिल्ममा प्रमुख भूमिका निभाउनेछन् । फिल्ममा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

फिल्मका निर्देशक शंकर कोइरालाले यो फिल्म पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

फिल्ममा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।