काठमाडौं । निर्देशक सबिर श्रेष्ठले नयाँ फिल्म ‘रुखान’को घोषणा गरेका छन् । नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण हुने फिल्ममा महिलाको कथा देखाइनेछ ।
फिल्म घोषणासँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । फस्टलुकमा एक महिला न्यायका लागि मुठ्ठी कसेर बिद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्विरसमेत राखिएको छ ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डा. रुपक घिमिरेको कथा, सबिन श्रेष्ठको कार्यकारी निर्माण, अर्जुन पोखरेलको संगीत र अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।
फिल्म सबिन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रालि र काइट्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
निर्देशक सबिरले ‘रुखान’ महिला संघर्षका कथा रहेको बताए । ‘यो कथाबाट हामीले सिंगो देशका नागरिकहरुको समस्यालाई भन्ने प्रयास गर्नेछौं ।’ उनले भने । सबिरका अनुसार फिल्मको प्रमुख पात्रमा महिला कलाकार हुनेछिन् । कलाकारको छनोटको क्रम जारी रहेको सबिरले बताए ।