दयारानी प्रिमियरमा कसको कस्तो प्रतिक्रिया ?

काठमाडौं । बिहीबार राजधानीमा भएको प्रिमियरमा ‘दयारानी’ फिल्मले प्रशंसा बटुलेको छ । माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई तथा दीया पुन स्टार फिल्मले आफ्नो कथा, प्रस्तुति तथा कलाकारको अभिनयका लागि तारिफ बटुलेको हो ।

फिल्मको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरुसमेतको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्मका निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित रहेका पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले फिल्म आफूलाई मनपरेको बताए ।

‘हाम्रो नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतीको बारेमा यो फिल्मले बाहिर ल्याउने कोशिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो फिल्मले नजिकबाट देखाएको छु’ प्रिमियरपछि गिरीले भने ।

निर्देशक तथा वितरक अशोक शर्माले फिल्म राम्रो बनेको अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम एकदमै तारिफ योग्य छ भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ‘उहाँलाई धेरै धेरै बधाई भन्छु दर्शकलाई एउटा राम्रो फिल्म दिएकोमा, कलाकारहरु सवैले राम्रो काम गर्नु भएको छु’, उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई फिल्म एकदमै रमाइलो लागेको बताए । ‘फिल्म हेरिरहँदा समय बितेको पत्तै हुँदैन । फिल्मले सामाजिक पक्ष रमाइलो पाराले भनिएको छ । दर्शकलाई मन पर्न सक्छ । अल्छी लाग्दैन दर्शकलाई भन्नेमा विश्वस्त छु । सबै कलाकारले नेचुरल काम गर्नु भएको छ’, उनले भने ।

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले फिल्मको टिजर र ट्रेलरले वाचा गरेअनुरुपको फिल्म बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् । यस्तै, आफ्नी आमासहित प्रिमियरमा आएकी अभिनेत्री प्रियंका कार्कीले ुदयारानीुमा कासीको भुमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् ।

उनले कासी पात्रको ‘ए होर आफु को हो र ?’ भन्ने संवाद बोल्दै नयनको तारिफ गरिन् । अभिनेत्री केकी अधिकारीले पनि आफुलाई यो फिल्म मन परेको बताइन् । फिल्ममा शीर्ष भुमिकामा काम गरेकी अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले निक्कै खुशी बनिन् ।