स्रष्टालाई राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्ड

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय ‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०८०’ मंगलबार साँझ नेपाल चलचित्र विकास बोर्डको हल चाबहिलमा सम्पन्न भएको छ । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिजले आयोजना गरेको अवार्ड गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा विशाल मुमिजका अध्यक्ष हुम गैरेको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा लोक तथा दोहोरी गीतसँग सम्बन्धित ६२ विधाका करिब ५० भन्दा बढी कलाकारहरुलाई उत्कृष्ट अवार्ड तथा सम्मान वितरण गरिएको थियो । सो कार्यक्रमको अवसरमा नेपाली लोक संगीतमा क्रियाशील करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा, सर्जक र केही पत्रकारहरु सम्मानित भएका थिए ।

कार्यक्रममा वर्षको सर्वोत्कृष्ट मौलिक गीत जुरी अवार्डबाट गायक कृष्ण गैरे सम्मानित भए भने लोकगायक राजु परियार, सुरेन्द्र गुरुङ, रामचन्द्र, गायिका सिर्जना विरही थापा, जमुना राना, नायक शितल केसी, संगीत संयोजक राकेश सोनी, पत्रकार कबिराज ढकाल, मोफसलका पत्रकार दिपेन्द्र थापामगर लगायतलाई विभिन्न विधाबाट सम्मानित गरिएको थियो ।

विशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक धीरज खत्री हुन् ।