संगीतकार संघ नेपालको केन्द्रिय सचिवमा संगीतकार थापा

काठमाडौं । संगीतकार शंकर थापा ‘स्माइल’ संगीतकार संघ नेपालको केन्द्रिय सचिव पदमा मनोनित भएका छन् । राजधानीमा सम्पन्न संस्थाको १२ औं साधारण सभाबाट थापा सर्वसम्मत निर्णयबाट सचिव पदमा मनोनित भएका हुन् ।

सचिव पदमा मनोनित भए लगत्तै थापाले संगीतकार संघको कार्यलयमा पद तथा गोपनियताको सपथ लिनुका साथै कार्यभार ग्रहण गरेका छन् । उनलाई संघका अध्यक्ष चेतन सापकोटा, महासचिव वसन्त सापकोटा, कोषध्यक्ष राजेश थापालगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

गतवर्ष सम्पन्न निर्वाचनमा थापा कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । सदस्य पदमा रहेर थापाले संस्थाको वृहत्तर हितका लागि विभिन्न कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनलाई सचिव पदमा सर्वसम्मतीले मनोनयन गरेको अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।

थापाले संस्थामा रहेर विभिन्न संगीतकर्मीहरुको उपचारार्थ सहयोग जुटाउने, कल्याणकारी कोष वृद्धिका भएका कार्यक्रममा सक्रिय सहभागिता जनाउने, संगीतकर्मीहरुको पेशागत हक, हित तथा बौद्धिक अधिकार संरक्षणका लागि विभिन्न सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गर्ने जस्ता काम गरेका थिए ।

सचिव पदको पदभार ग्रहण गरेपछि संगीतकार थापाले सम्पूर्ण संगीतकर्मीहरुले आफु माथी गरेको विश्वासप्रति आभार व्यक्त गरेका छन् ।
सोही सभाले संगीतकार योगेन्द्र उपाध्याय निरौलालाई सदस्य पदमा मनोनयन गरेको छ । संगीतकार उपाध्यायले पनि सोमबार नै पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् ।