त्रिवेणी धामबाट सुरु भयो पिताम्बर

काठमाडौं । निर्देशक कृषा चौलागाईको फिल्म ‘पिताम्बर’को पहिलो चरणको छायाङ्कन नवलपरासीका त्रिवेणी धामबाट सुरु भएको छ । फिल्मका बाल कलाकारको मुहुर्त सटसँगै छायाङ्कन सुरु भएको हो । फिल्म ‘ऐंचो पैंचो’पछि ‘पिताम्बर’ कृषाको दोस्रो निर्देशकीय फिल्म हो ।

फिल्मको गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्क्रिप्ट पूजा गरिएको थियो । निर्देशक चौलागाईका अनुसार नवलपरासी, बुटवल र नेपालगन्जमा पहिलो चरणमा १५ दिनको सेड्युलमा फिल्म छायाङ्कन हुनेछ ।

फिल्मको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको छायाङ्कन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् ।

फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन हुनेछ । फिल्मको निर्माता विशाल चौलागाई हुन् । तीन चरणमा छायाङ्कन हुने फिल्मको बाँकी छायाङ् वैशाख र असार–साउनमा हुनेछ ।