रङ्गेलीलाई रङ्गेलीका मेयरले दिए शुभकामना

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा उनले भिडियो पोस्ट गर्दै आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट फिल्म बनेकोमा खुसी व्यक्त गरेका छन् ।

भिडियोमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण तथा प्रचुर सम्भावना रहेको ‘रङ्गेली’को सफलताको कामना गरेका छन् । उनले फिल्ममार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद दिएका छन् ।

केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बोर्डले प्रमाणपत्र नदिएको समाचार सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो । यद्यपि, बोर्डले आइतबार यो फिल्मलाई ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ ।

प्रमाणपत्र बुझेपछि यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले नामको विषयलाई लिएर पछि समस्या हुनसक्ने भन्दै नगरपालिकाको सहमति ल्याउन भनेको तर पत्र पेस नगरीकनै बोर्डले प्रमाणपत्र दिएको बताए ।

फिल्ममा अर्जुन सुवेदीको लेखन र निर्देशन छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको अभिनय छ ।