काठमाडौं । छायाङ्कनमा रहेको फिल्म ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । फिल्मका निर्देशक दिनेश राउतले आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एक्कासि भिडियो नै भाइरल भएपछि केही तनाव भएको बताए ।
निर्देशक राउतले आफूले सोचे अनुरूप सार्वजनिक गर्न नपाए पनि दर्शकले सिग्देलको लुक्सबारे चर्चा गरिरहेको देख्दा खुसी नै लागेको बताए । ‘जसरी पनि प्रचार सामग्रीहरूमा हामीले देखाउनै पर्ने थियो । योजनामा राखिएको समय अगावै भिडियो सोसल मिडियामा आएको रहेछ । आर्यनको कोही फ्यानले सेटमै खिचेर अपलोड गर्नुभएछ,’ सुटिङ सेटबाटै राउतले भने ।
२४ सेकेन्ड लामो भिडियोको युट्युब लिङ्क शेयर गर्दै अभिनेता प्रदीप खड्काले ‘पुजार लिक भयो । मैतैलाई पत्ता लगाउनुस’ भनेका छन् । पञ्चेबाजामा छमछम नाचिरहेका आर्यनले टुप्पी पालेका छन् । उनले ढाका टोपी लगाएका छन् । उनको लुक्स हेर्दा उनी पुजारीको भूमिकामा रहेको अनुमान लगाइएको छ । भिडियो फेसबुकमा पनि भेटिएको छ ।
यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको यो फिल्मको कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोटमा छायाङ्कन चलिरहेको छ । यस फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।
केही दिन अघि अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पार्दै फिल्ममा उनको भूमिकाको पात्र परिचय दिने फोटो सार्वजनिक गरिएको थियो । फिल्ममा प्रदीपको नाम ‘मैत बहादुर’ रहेको खुलाइएको थियो ।
निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा सङ्गीतकार सुवास भुसालको निर्माण छ ।