द रेड सुटकेसको टिजरमा एक्ला प्रविण

काठमाडौँ । गत वर्षको भेनिस फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ । यही चैत ३० गतेबाट रिलिज हुने फिल्मको सोमबार निर्माण संस्था आईसफल प्लसको युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो ।

टिजरमा कलाकार प्रविण खतिवडामात्र फिचर्ड छन् । टिजरमा उनले एक रातो सुटकेसलाई बोकेर हिँडिरहेको र एक दृश्यमा अर्धनग्न उनलाई देखाइएको छ । फिल्ममा सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको पनि अभिनय छ ।

निर्देशक देवकोटाले कथा र कथा भन्ने तरिका आफ्नो लागि महत्वपूर्ण भएको बताउँदै सोही अनुसार टिजर तयार गरेको बताएका छन् ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन र समन अलभितिगाको सम्पादन छ । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् ।

फिल्म संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ ।

फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।