डिग्री माइलाको लिरिकल किन

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको फिल्म ‘डिग्री माइला’को लिरिकल गीत ‘किन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको ।

रामबाबु गुरुङ निर्देशित फिल्मले ट्रेलरले चर्चा पाइसकेको छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतिर आकर्षित गरिरहेको छ । फिल्ममा आँचल शर्मा दयाको जोडी बनेकी छन् ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

फिल्म आगामी चैत्र ३० गतेबाट नेपाली नयाँ वर्षको अवसर पारेर रिलिज हुनेछ । फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।