राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन वैशाख २८ र २९ मा

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सोबारे जानकारी गराएको हो ।

संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । संघको महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ ।

संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले महाधिवेशन उद्घाटन गर्ने महासचिब खातीले जानकारी दिए । संघको निर्वाचन भने २९ बैशाखमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

संघका कार्यबाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईसकेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यवाहक अध्यक्ष कटवालले बताए । उनका अनुसार संघका मतदान अधिकार भएका करिब १३ सयजना आजिवन सदस्य छन् भने ७५ वटै जिल्लाका करिब साँढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा भाग लिन्छन् । यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताए । यो १८ औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए ।

छैठौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउने आफुहरुको चाहना रहेको तर लोकतान्त्रिक प्रकृया अन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफुहरु नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो ।

संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यवाहक अध्यक्ष कटवालले कार्यक्रममा जानकारी गराए ।

संघका पूर्व अध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत भएको निकै खुसी लागेको छ भने ।

यस्तै संघका सल्लाहकार तथा अग्रज पत्रकार रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफु विश्वस्त छु भने ।