काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’ मा सहभागिता जनाउन ‘मिस्टर ग्लोबल नेपाल’ गिरिशरत्न शाक्य थाइल्याण्ड उडेका छन् । उनी गत सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्यान्ड गएका हुन् ।
विश्वका करिब ४० देशका प्रतिस्पर्धीहरूको सहभागिता रहने प्रतियोगिता २९ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म थाइल्यान्डमा आयोजना हुनेछ । उक्त प्रतियोगितामा शाक्य नेपालका तर्फबाट एक्लो प्रतिनिधि हुन् ।
गिरिशरत्नलाई ‘मिस्टर नेपाल’को आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले थाइल्यान्ड पठाएको हो । शाक्य प्रतियोगितामा मौलिक नेपाली कला र संस्कृतिसहित प्रस्तुत हुन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले जानकारी दिए ।







