काठमाडौं । आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ मा चिफ पेट्रोनका रूपमा सञ्जित खरेल निश्चित भएका छन् । सिक्किममा नेपथ्यले पहिलोपटक कार्यक्रम गर्न लागेको हो ।
सिक्किम कन्सर्टका लागि पीभीई नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख विकेश कायस्थ र सञ्जित खरेलबीच भएको भेटमा सञ्जितलाई चिफ पेट्रोन बनाउने सहमति भएको हो । उक्त भेटमा कन्सर्टभन्दा बाहिर गएर कन्सर्टको अर्थतन्त्र, रचनात्मक अर्थतन्त्र, सांस्कृतिक पर्यटन तथा सिक्किमलाई ठूला सांगीतिक र सांस्कृतिक अनुभवका लागि उदीयमान गन्तव्यका रूपमा विकास गर्ने सम्भावनाबारे कुराकानी भएको नेटवर्कले जनाएको छ ।
नेटवर्कले खरेललाई सिक्किमका प्रभावशाली युवा व्यक्तित्वहरूमध्ये एकका रूपमा वर्णन गर्दै, युवा, समुदाय तथा सार्वजनिक पहलहरूसँग उनको निरन्तर संलग्नता विभिन्न तहका नागरिकले सराहना गर्दै आएको जनाउदै चिफ पेट्रोनका रूपमा खरेलको सहभागिताले सेलिब्रेट सिक्किमको बृहत् सांस्कृतिक उद्देश्यलाई बलियो बनाउने अपेक्षा गरेको छ ।
आयोजकका अनुसार नेपथ्यको कन्सर्टमा दार्जिलिङ पहाड, कालिम्पोङ, खरसाङ, सिलिगुडी, उत्तरपूर्वी भारत, नेपाल तथा आसपासका क्षेत्रहरू बाट दर्शक र यात्रुहरूको सहभागिता हुने अनुमान छ ।
नेटवर्कले गत वर्षको १५ नोभेम्बरमा सिक्किममा ‘लेट्स गेट लाउड फिचरिङ सज्जन राज वैध’ को सफल आयोजना गरेको थियो । सज्जनको कार्यक्रममा २ हजार बढी दर्शकको उपस्थिति हुँदा भारतीय रूपैयाँ ३ करोड बढीको स्थानीय आर्थिक गतिविधि भएको थियो ।
कायस्थका अनुसार सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले विभिन्न अवसरमा सिर्जनात्मक क्षेत्र, युवा उद्यमशीलता, संगीत, मनोरञ्जन र रचनात्मक अर्थतन्त्र सम्बन्धी सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र जोडबाट पनि सज्जन र नेपथ्यको कार्यक्रम प्रेरित छ ।







