पुजार सार्कीको जाऊँ माया

काठमाडौं । यही जेठ १० गते रिलिज हुने फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ ।

त्यस्तै मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ। गीतमा बि पाण्डेको शब्द, सुवास भुषालको संगीत र केतन क्षेत्रीको स्वर छ ।

यो गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा जनाउँछन् । फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा सुवास भुसालको निर्माण छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीको द्वन्द्व छ । फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।