गाउँबाट बाटो पुग्दा दयाहाङलाई तनाव !

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर राजधानीमा बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा गाउँमा बाटो पुगेपछि स्थानीयको जीवनमा आएको परिवर्तनलाई देखाइएको छ ।

खासगरी फिल्ममा बासको सामाग्री बनाएर बेच्दै आएका दयाहाङ राईको जीवनमा गाउँमा बाटो पुगेपछि के कस्तो असर पार्यो भन्ने कुरा देखाइएको छ । ट्रेलरमा दयाहाङ राई, पशुपति राई र प्रसन राईलाई महत्व दिइएको छ ।

फिल्ममा दयाहाङ बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । तर जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् ।

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा नवीन सुब्बाको लेखन र निर्देशन छ । फिल्मले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।