काठमाडौं । निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ रिलिज गरिएको छ । गीतमा श्रवण मुकारुङको शब्द, कालीप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर छ ।
गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईलाई फिचर्ड छन् । भिडियोमा सुरेन्द्र पौडेलको सम्पादन छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ ।
बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर सिनेमाको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा फिल्मले भनेको छ ।
जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका फिल्मका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो फिल्म ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।
यो फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।