भैरहवा । ‘मिस लुम्बिनी, सिजन–२’को उपाधि भैरहवाकी २१ वर्षीया मेनुका खनालले चुमेकी छिन् । शुक्रबार अबेर रात भैरहवाको टाईगर प्यालेस रिसोर्टमा ड्रिम्स मिडियाद्धारा आयोजित सो प्रतियोगितामा आफ्ना प्रतिस्पर्धीलाई उछिन्दै मेनुकाले मिस ट्यालेन्ट सहित ५० हजार रुपैयाँ, विभिन्न उपहार सहित मिस लुम्बिनी दोस्रो संस्करणको उपाधि हाँसिल गरिन् ।
२५ प्रतियोगीबाट प्रि सेकेक्सन राउन्ड मार्फत उत्कृष्ट १० लाई अन्तिम प्रतिस्पर्धामा उतारिएको सो प्रतियोगितामा बुटवलकी १८ वर्षीया मोनिका भण्डारीले २० हजार रुपैयाँ सहित फस्ट रनर अप र तिलोत्तमा नगरपालिकाकी २१ वर्षीया सिता न्यौपानेले १० हजार रुपैयाँ सहित सेकेन्ड रनर अपको उपाधि जितिन् । सो प्रतियोगिताको अन्य शिर्षक तर्फ संगीता काफ्ले मिस पर्सनालिटी डिजर्भिङ, श्रेया रायामाझी बेस्ट वाक, सपना चौधरी मिस फोटो जेनिक, हिरा थापा मिस मल्टिमिडिया र खुस्बु अधिकारी क्षत्री मिस कन्फिडेन्टको उपाधि प्राप्त गर्न सफल भए ।
नेपाल चलचित्र संघका अध्यक्ष एवं चलचित्र निर्माता प्रदीप कुमार उदयले बिजेताहरुलाई अवार्ड प्रदान गरेका थिए । प्रज्ञा तिवारी बरालको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा नेपाल जेसिसका पूर्व अध्यक्ष अनुपमान सैंजु, मिस नेपाल एशिया प्यासिफिक–२०१६ अंशु केसी, अभिनेता एवं मोडल पियुस कर्ण, मोडल न्यान्सी थापा र पत्रकार एवम् चलचित्र निर्देशक डब्बु क्षत्री थिए । प्रदेश ५ का युवतीहरुको व्यक्तित्व विकाश सहित उनीहरुको प्रतिभा प्रस्तुतिका लागि गत वर्षबाट मिस लुम्बिनी आयोजना गर्दै आएको आयोजक एवम् ड्रिम्स मिडियाका अध्यक्ष प्रकाश दर्लामी मगर (योगेन्द्र)ले बताए ।