निश्चलको लण्डन टु पेरिस कुरा

काठमाडौं । अभिनेता निश्चल खड्का यही जेठ २५ गतेबाट रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनयमा डेब्यू गर्दैछन् । फिल्मका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो फिल्ममा जोडिएका हुन् । तर यो फिल्ममा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ ।

निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै फिल्मका लागि अडिसन दिएका थिए । ‘मैले दुई वटा फिल्ममा अडिसन पछि साइन नै गरेको थिएँ । तर के कारणले हो ती फिल्म बनेनन् । एकदिन क्याफेमा कफि पिउँदै जीवनलाई कसरी अगाडि बढाउने भनेर सोचिरहँदा कवीरले फिल्मको लागि अडिसन भइरहेकोले अडिसन दिन फोन गर्यो’, निश्चलले भने, ‘दुई वटा फिल्ममा साइन गरेर पनि नबनिरहँदा कतै यो फिल्म पनि नबन्ने पो हो कि भन्ने डर थियो । तर डर केवल डरमै सीमित भयो । किनकी फिल्मको काम सुरु भएपछि त्यो डर हरायो ।’

फिल्ममा निश्चलले ‘अपिल’ चरित्र निर्वाह गरेका छन् । ‘यो फिल्मको स्क्रिप्ट पढ्दा म धेरै खुशी भएँ । देशबाहिरको कथावस्तु थियो । लण्डनदेखि पेरिसम्म पुगेको प्रेमकथा थियो । अपिल भन्ने २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो । अपिलको इमोसनमा कति उतारचढाव आउँछ भन्ने फिल्ममा देखाएको छु’, उनी भन्छन्, ‘अपिल आफ्नो माया पाउनका लागि कुन हदसम्म जान्छ भन्ने देखाएको छु । उसले प्रेम पाउनकै लागि लण्डनदेखि पेरिसम्मको यात्रा गर्छ । आफ्नो सपना पुरा गर्न कतिसम्म लाग्नुपर्छ भन्ने मेरो पात्रले देखाएको छ ।’

निश्चलका अनुसार फिल्मको चरित्र र उनको वास्तविक चरित्र धेरै भिन्न छ । फिल्ममा गौरव (कविर खड्का)ले उनलाई सल्लाह दिन्छन् र त्यही सल्लाह अनुसार उनी काम गर्छन् । ‘फिल्ममा म अरुको सल्लाह लिए पनि वास्तविकतामा म आफै निर्णय लिन्छु । स्क्रिप्ट पढ्दा पनि यस्तो खालको केटा रहेछ भन्ने भएको थियो । म कलाकार हो । कलाकार बहुरुपी नै हुन्छ । तर त्यो चरित्रमा अभिनय गर्दा भने मजा नै आयो ।’, उनी भन्छन ।

फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । ‘साम्राज्ञी व्यक्तिगत र व्यावसायिक रुपमा एकदमै सहयोगी लाग्यो । मभन्दा उहाँ धेरै सिनियर भएकाले मैले धेरै कुरा उहाँबाट सिकें । हाम्रो उमेर एउटै भए पनि व्यावसायिकता हेर्दा उहाँ सिनियर । अभिनयका कति कुरा उहाँबाट सल्लाह लिएँ’, निश्चल भन्छन् ।

घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।