गाउँ आएको बाटोकी संगीतकार हाइडी ली नेपालमा

काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् ।

फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई संस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै सिनेमाको गीत तयार पारेकी छन् ।

फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन् । फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ । उनी आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित छिन् ।

‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं । यो फिल्म जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर सिनेमा हेर्न निकै उत्साहित छु,’ हाइडीले भनिन्, ‘म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो सिनेमामा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’