मोदीबेनीको फस्टलुकमा रिसाहा अमर र वर्षा

काठमाडौं । आगामी साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’को दुई पोस्टर सार्वजनिक गरिएको छ । दुई पोस्टरमध्ये एकमा फिल्मका प्रमुख कलाकार अमरप्रताप श्रेष्ठ र अर्कोमा वर्षा शिवाकोटी फिचर्ड छन् ।

पोस्टरमा अमर र वर्षालाई रिसाहा लुक्समा देखाइएको छ । यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका अमरलाई पोस्टरमा कुनै पहाडी इलाकामा हातमा बाँसको लट्ठी समाएर रिसाहा भावमा उभिएको देखाइएको । उनको गाला चिथोरिएका छ भने हातमा टाँका लगाइएको छ । अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका छन् ।

अभिनेत्री शिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । उनी कुनै पहाडी इलाकामा उभिएकी छन् । उनको पछाडि उकालो बाटो छ । उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन् ।

फिल्मका निर्देशक शंकर कोइरालाले पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर फिल्म बनाइएको बताए ।

सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन् । फिल्ममा अमर र वर्षासहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा आनन्दविक्रम क्षेत्रीको लेखन छ । दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।