किरण भन्छन्ः दान्भीको जस्तो एक्सन नेपाली फिल्ममा कमै

काठमाडौं । फिल्म ‘पर्खी बसें तिमीलाई’ पछि अभिनेता किरण श्रेष्ठ दोस्रो फिल्म ‘दान्भी’मार्फत यही असार ७ गतेदेखि दर्शकमाझ आउँदैछन् । ‘डेब्यू’ फिल्ममा ‘लभर ब्वाई’का रुपमा प्रस्तुत भएका उनी ‘दान्भी’मा भने कम ‘लभ’, बढी ‘एक्सन’मा देखिँदैछन् ।

किरणका अनुसार ‘पर्खी बसें तिमीलाई’ लगत्तै उनी ‘दान्भी’को काममा जोडिए । फिल्ममा उनी ‘सिआइबी अफिसर’को भूमिकामा देखिँदैछन् । ‘मैले आफ्नो चरित्रका लागि धेरै मेहनत पनि गर्न पाइनँ । आफ्नो चरित्रका लागि निर्माताको दाईसँग केही छलफल भयो । उहाँबाट अनुसन्धानमा जाँदा केके गर्नुपर्छ भनेर केही जानकारी लिएँ । धेरै गहन छलफल गर्न पाइएन’, उनी भन्छन् ।

किरणले फिल्मकै लागि लुक्समा पनि मेहनत गर्न पाएका रहेनछन् । ‘पर्खी बसें पछि ‘दान्भी’ गर्नु परेकाले लुक्स कस्तो बनाउने भन्ने समय नै मिलेन । विपिन कार्की, सौगात मल्ल दाईले गर्नुभएको जस्तो तयारी गर्न पाइएन । मैले हल्का हाउभाउ र लुक्समा थोरै परिवर्तनमात्र गरें । सिआइबीको छनक त आएन, तर पुलिसको चाहिँ आयो’, उनले हाँस्दै भने ।

एक्सन फ्लेभरको ‘दान्भी’मा किरणको एक्सन सिक्वेन्स पनि राम्रै रहेछ । उनले एक्सनमा खासै मेहनत गर्नुपरेन किनकी उनी आफैं तेक्वान्दो खेलाडी हुन् । ‘मैले तेक्वान्दोबाट राष्ट्रिय खेलहरु पनि खेलें । सन् २००७ देखि २०१२ सम्म तेक्वान्दो खेल्थें । त्यसकारण पनि एक्सनमा गाह्रो भएन । त्यही पनि श्री गुरु (द्वन्द्व निर्देशक श्री श्रेष्ठ)गुरुसँग एक दुई दिनको क्लास चाहिँ लिएँ । त्यसपछि सुटिङ सेटमै एक्सन कोरियोग्राफी भयो’, किरणले सम्झिए । किरणका अनुसार फिल्ममा नायिका पुजा शर्मासँग पनि उनको लभ सिक्वेन्स छ ।

‘दान्भी’ एक्सन जनराको भएकाले दर्शकले यो फिल्म हेर्नुपर्ने किरण बताउँछन् । ‘ नेपालमा यतिको एक्सन प्याक्ड फिल्म सायदै कम बनेको होला । जुन हिसाबले पुजाजीले, हामीले एक्सन कोरियोग्राफी गरेका छौं, त्यो हिसाबले यस्तो एक्सन नेपाली फिल्ममा कमै होला । कथाको हिसाबले पनि हल्का सस्पेन्स छ,’ उनी भन्छन् ।

किरणको पृष्ठभूमि केही रोचक छ । उनी नृत्य र तेक्वान्दोमा रुची राख्थे । एक समयमा यूकेको लाहुरे भिड्ने तयारी गरिरहँदा उनलाई उनकी दिदीले ‘मिस्टर नेपाल २०१६’मा सहभागी हुन पठाइन् । त्यहाँका एक प्रतियोगीले ट्यालेन्ट राउण्डमा अभिनय गरेको देख्दा उनी प्रभावित भएछन् । त्यसपछि उनकै सल्लाहमा किरण मण्डला थिएटरमा अभिनय सिक्न पुगे ।

किरण आफ्नो चरित्रलाई दर्शकले रुचाउनेमा आशावादी छन् । ‘म एक्सन फिल्म गर्न रुचाउँथे । त्यसकारण यो फिल्ममा एक्सन कलालाई देखाउन पाएको छु’, उनी भन्छन् ।
रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ ।