प्रताप र बेनिशाको सान मान हाम्रो स्वाभिमानको

काठमाडौं । देशप्रति समर्पित गीतहरु लेख्दै आएका गीतकार तथा पत्रकार गोपाल प्रसाद थपलियाले आफ्नो रचनामा ‘शान मान हाम्रो स्वाभिमानको’बोलको गीत सार्वजनिक गरेका छन्। उनले शनिबार आफ्नै नामको गोपाल प्रसाद थपलिया नामक युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

देशमा भएका भ्रष्टचार हटाउन स्वाभिमान नेपाली जाग्नुपर्ने गीतमार्फत भन्न खोजिएको छ। सबै मिलेमा भ्रष्टचार हट्छ र देश राम्रो बनाउन सकिन्छ भन्ने भाव प्रस्तुत गरेको गीतमा दीपक शर्माको संगीत,प्रताप दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ। भ्रष्टचार हटेर,सबैले न्याय पाउनुपर्ने खाल्का कुरा उठान गरेको यस गीतलाई पछिल्लो समयका गायक समेत रहेका सबिन सुवेदीले एरेन्ज गरेका छन्।

गीतको भिडियोलाई स्टुडियोमा नै खिचिएको छ। जसमा उनी सहित गायक प्रताप दास,बेनिशा पौडेल,संगीतकार दीपक शर्मा र गीतकार आफै देखिएका छन्। गायिका पौडेलले देशभक्ती गीत गाउँदा निकै आनन्द महशुस भएको बताईन्।

उनले भनिन्,‘लभ स्टोरी गीतहरु मैले थुप्रै गाइसकेकी छु। यस पटक अलिक फरक र देशभक्ती गीत गाउँदा निकै आनन्द महशुस गरेकी छु। सायद स्रोताहरुले मन पराइदिनुहुन्छ होला भन्ने अपेक्षा छ।’

‘पर्ख पर्ख मायालु’,‘दाह्री फुल्यो बैशमा’जस्तो करोड क्लबका गीतहरुमा संगीत भरेका दीपक शर्माले देशभक्ती गीतहरुमा संगीत भर्न रमाइलो लाग्ने बताए। ‘सबै खाल्का गीतहरुमा संगीत भर्न रमाइलो लाग्छ,’उनले पत्रकारसँगको कुराकानीमा भने,‘यस पटक अलिक पृथक खाल्को गीत गरेको छु। सायद स्रोताहरुले मन पराउनुहुन्छ होला।’

यस अघि गीतकार तथा पत्रकार थपलियाका ७ ओटा कविता, कथा, मुक्तक, निबन्ध,गीतिसंग्रह प्रकाशित गरिसकेका थपलियाले ‘बतास चल्यो सरर’,‘म’ र ‘मेरो देश’,‘नेपाल आमाको पुकार’, कङ्गाल भए जनता’,‘जनता रुवायो’,‘उठ युवा युवतिहरु’,‘देशको माटो’ लगायत दर्जनौ गीत स्रोतामाझ ल्याइसकेका छन्। उनी हरेक वर्ष १,२ वटा गीत रिलिज गर्दै आएका छन्।

गीतकार थपलिया पनि आफुले धेरै गीतहरुमध्ये यो गीतले आममानिसमा जागरण ल्याउन सहयोग पुग्ने बताए।