सतीदेवीको लैजा दैव फिर्ता लैजा

काठमाडौं । आगामी साउन ४ गतेबाट रिलिज हुने फिल्म ‘सतीदेवी’को पहिलो गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक भएको छ । गीतमा फिल्मका निर्देशकसमेत रहेका लक्ष्मण सुवेदीको शब्द, सुभाष भुसालको संगीत, ममता गुरुङको स्वर र पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।

गीतको भिडियोमा नायिका मलिका महतको पीडा र वेदना देखाइएको छ । गीतमा फिल्म भित्रका कथात्मक दृश्यलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा मलिकासहित रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बानियाँ, कुलदीप अधिकारी, भोला सापकोटा, सुजिता सिवाकोटी, मनिषा सापकोटा, सन्देश लिम्बू आदिले अभिनय गरेका छन् । फिल्ममा विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता छन् ।