एक्टरका प्रदीपलाई भेनिटी भेन

काठमाडौं । फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्वय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।

पोखरामा १० दिन छायांकन सक्काएर टिमले काठमाडौंको सेड्युलमा विगत केही सातादेखि व्यस्त छ । थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो फिल्मको टिमले नायक प्रदीपलाई छायांकन सेटमा ‘भेनिटी भ्यान’ उपलब्ध गराएको छ ।

विशेषत भेनिटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो भेन प्रयोग गरिन्छ । बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने भेनिटी भ्यानको प्रचलन खासै छैन् ।

जानकारहरुका अनुसार बालाजु ल्याबमा यस्तै भेनको प्रयोग दुई वर्ष गरिएको थियो । तर, यसपटक भने फिल्मका निर्माता थमन कुमार भण्डारीले नायक खड्काका लागि ‘भेनिटी रुम’ उपलब्ध गराएका हुन् । फिल्मको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् । ‘भेनिटी रुम’लाई नेपालमा नै तयार पारिएको हो ।

यो फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने फिल्ममा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । गत जेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए । करिब ९ वर्षपछि पर्दामा देखिन लागेको उनी फिल्मको छायांकन सकाएर केही दिन अघि अमेरिका फर्किसकेका छन् ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । फिल्मका निर्देशक राजन भुसाल हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ।