दयाहाङलाई घर ज्वाइँको सकस

काठमाडौं । यही असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका नायक दयाहाङ राईले बिहेको लागि गर्ने संघर्षलाई देखाइएको छ । फिल्मको ट्रेलर ‘घरज्वाइँ’को कथासार बुझाउन सफल छ । सार्वजनिक ट्रेलरले दर्शकलाई फिल्मप्रति कौतुहल्ता जगाउन सफल हुने विश्वास निर्देशक अनिल बुढामगरको छ ।

मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित फिल्मलाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए । ‘हामीले ५ वर्ष लामो रिसर्च पश्चात फिल्म निर्माण गरेकाले पनि टेक्निकल पक्षलाई उत्कृष्ट बनाउन सफल भएका छौं’, निर्माता घर्ती मगरले भने ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीको सम्पादन रहने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।