चौथो चरणको छायांकनमा ह्रस्व दीर्घ

काठमाडौं । चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ । अबको ४ दिनसम्म यो फिल्मको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए ।

‘यो फिल्मको अन्तिम सेड्युल हो । ४ दिनमा फिल्मको सम्पुर्ण छायांकन सकिनेछ । त्यसपछि हामी पुर्ण रुपमा फिल्मको प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं’, निर्देशक पन्तले भने । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको फिल्मको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड फिल्म ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् ।

बलिउड फिल्म ‘गजनी’ भिलेन प्रदीप रावतले आफुले फिल्ममा अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी फिल्म ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्मातासमेत रहेको अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली फिल्मको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए ।

यस्तै, दक्षिण भारतीय फिल्म ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । फिल्मको स्कृप्ट अनुसार फिल्म पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो फिल्मले नेपाली फिल्मलाई भारतीय फिल्म उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित फिल्मटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।