अन्जना नयाँ कौसी क्वीन

काठमाडौं । आम सौन्दर्य प्रतियोगिताभन्दा केही फरक सौन्दर्य प्रतियोगिता ‘कौसी क्वीन’को उपाधि अन्जना जोशीले जितेकी छन् । कौसी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंमा हालै भएको चौथो संस्करणको कौसी क्वीन–२०८१ को उपाधि अन्जनाले जितेकी हुन् ।

विजेता जोशीलाई कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिर्‍याइदिएकी थिइन् । यस वर्षको कोसी क्वीनको फस्ट रनर अप गङ्गादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिरे र थर्ड रनर अप कमलमाया श्रेष्ठ बने ।

उनीहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।​​

प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

बढ्दो शहरीकरणसँगै शहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रियसनका अध्यक्ष मनोज श्रेष्ठले बताए ।