माइलीबाट अभिनयमा गायिका कमलाको डेब्यू

काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा गायिका कमला घिमिरे अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्न लागेकी हुन् ।

कमलाले आफूलाई संगीतमा झैं फिल्ममा पनि दर्शकले माया दिने बताइन् । ‘दर्शकले मलाई फिल्ममा पनि माया र साथ दिनुहुनेछ जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो । आज मैले फिल्म गर्ने अबसर पाएँ, म सम्झिन चाहान्छु मेरा ति सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक श्रोताले धेरै माया गरेर आज यो ठाउँ सम्म पुर्‍याउनुभयो’, उनले भनिन् । कमला एक समय युट्युब र सामाजिक सञ्जालमा भाइरल गायिका थिइन् ।

फिल्म युनिटले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।