माइलीमा कुसुम शर्मा अनुबन्धित

काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा कुसुमले अभिनय गर्न लागेकी हुन् । मोडल कुसुम गायक प्रकाश सपुतको गीत सकम्बरीबाट चर्चामा आएकी हुन् ।

फिल्म युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पुरा भएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।
असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।