भेनिस फिल्म फेस्टिभलमा पूजा, सर

काठमाडौँ । विश्वकै पुरानो मानिने ‘भेनिस फिल्म फेस्टिभल’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली फिल्म ‘पूजा, सर’ छनोट भएको छ ।

छायाङ्कनका क्रममा ‘राजागञ्ज’ नाम राखिएको फिल्मको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा,सर’ राखेका हुन् । आगामी भदौ १२ देखि २२ गतेसम्म चल्ने महोत्सवको ८१औँ संस्करणमा फिल्मको छनोटको खबर पाएसँगै यसलाई सुखद यात्राको आरम्भका रूपमा निर्देशक रौनियारले व्याख्या गरेका छन् ।

‘अघिल्ला फिल्म झैँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्रारम्भ हुँदैछ, यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको फिल्मले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ’, निर्देशक रौनियारले भने ।

यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ले यही विधामा छनोट हुने पहिलो नेपाली फिल्मको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’ छनोट भएको थियो ।

विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपाल प्रदर्शन गर्ने तयारी गरिएको फिल्म ‘पूजा, सर’लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको फिल्ममा महिला प्रहरीको कथा समेटिएको छ । यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरुङ, निरज श्रेष्ठ, पशुपति राईलगायत कलाकारले अभिनय गरेका छन् ।