देवीमा गौरव प्रहरी, नाजिर सञ्चालक

काठमाडौं । नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ ।

फिल्मले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । फिल्मकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई फिल्मका निर्देशक हुन् ।

फिल्मले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले दिएको छ। फिल्म भदौ २१ गते रिलिज हुनेछ ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो फिल्मले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका राईले आफ्नो फिल्मले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए ।

फिल्ममा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । फिल्ममा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्म मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।