प्रकाश भन्छन्–वसन्त अर्को परीक्षा हो

पोखरा । गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला फिल्म ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त छन् । निर्देशकका रुपमा उनले गत वैशाखमा आफ्नो पहिलो फिल्म ‘वसन्त’ निर्माणको घोषणा गरेका थिए । उक्त फिल्मको शीर्षक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । आगामी भदौ तेस्रो सातादेखि फिल्मको छायाङ्कन सुरु हुने उनले जानकारी दिए ।

‘अहिले छायांकन पूर्वको तयारी भइरहेको छ, कलाकार छनोटदेखि स्क्रिप्ट, छायाँङ्कनस्थल टुङ्गोमा पु¥याउनेलगायत प्रि–प्रडक्सनको काम भइरहेको छ’, सपूतले भने, ‘फिल्मको अधिकांश छायाँङ्कन बागलुङ बजार र आसपासको गाउँमा गर्ने तयारी भइरहेको छ, काठमाडौँ र तराईमा पनि केही भाग छायाँङ्कन हुनेछ ।’ चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई फिल्मको प्रर्दशन मिति तोकिएको छ ।

उनले आफ्नो फेसबुकमा केही दिनअघि लेखेका थिए, ‘चलचित्र ‘वसन्त’ गीतहरुबाट बन्ने छ र गीतहरु जीवन जस्तै हुनेछन् । छिनछिनमै बदलिरहने तर हामीसँगै हुने हाम्रो हाँसो र आँशु जस्तै । हावा र पानी जस्तै । जन्मिएर भर्खर हास्न थालेको आफ्नो सन्तान जस्तै । हेरिरहूँ लाग्ने । ‘वसन्त’ कथाले भन्दा बढी विचार, भावना र संवेदनाहरुले बन्नेछ । आशा छ तपाईंलाई आफ्नै लाग्नेछ ।’

गायन करिअरको शिखरमा रहेकै बेला उनले फिल्म निर्माण तथा निर्देशन गर्न लागेका हुन् । सपूत नारायण रायमाझीद्वारा निर्देशित फिल्म ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफँै मुख्य पात्रका रुपमा देखिँदैछन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले फिल्म निर्माण र निर्देशनमा आँट दिलाएको उनको भनाइ छ । फिल्म निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याए ।

गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपूतलाई दर्शकले रुचाएका छन् । ‘अभिनेताका रुपमा ‘परदेशी २’ लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो’, सपूतले भने, ‘पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।’

फिल्म ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए । ‘चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ’, सपूतले भने, ‘चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।’ फिल्ममा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ ।

सपूतले आफ्नो भोगाइ र अनुभवलाई फिल्मको कथामा ढालेको बताए । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई फिल्ममा देखाउन खोजिएको सपूतले बताए । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले फिल्ममा नेपालीपन दिन खोजिएको सपूतले बताए ।

फिल्मको दोस्रो मुख्य पात्र ‘शान्ति’ का रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनेछिन् । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने फिल्ममा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । फिल्मको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पारेका छन् । फिल्मको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’ लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिन्छिन् । मौलिक गीत ‘गलबन्दी’ बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।