काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक फिल्मको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
चन्द्र पन्तको डेव्यु निर्देशकिय फिल्मको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा फिल्मको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । फिल्मको पोस्टरले दर्शकलाई उत्साहीत बनाउने विश्वास निर्देशक पन्तको छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्ममा बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालको छायांकन छ । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।