नारायण भन्छन्ः नम्बरी सुनमा बनावटी केही छैन

काठमाडौं । कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । फिल्म ‘कोहिनूर’मा सानो भूमिकामा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’बाट निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । यो फिल्ममा उनले नायक गौरव पहाडीको बुवाको भूमिकामा अभिनय गरेका छन् ।

नारायण आफ्नो नै सुन व्यवसाय रहेकाले त्यही पेशालाई प्रेरणा दिन र इतिहासलाई चिनाउन ‘नम्बरी सुन’ निर्माण गरेको बताउँछन् । ‘फिल्मको कन्सेप्ट मेरै हो । यो वास्तविक कथा हो । यसमा सुनको इतिहास छ । परापूर्व कालमा सुनको काम कसरी अगाडि बढ्यो, कालीगढी काम कसरी बढ्यो भन्ने कुरालाई फिल्ममा देखाएका छौं’, उनी भन्छन्, ‘सुन जन्मदेखि अन्त्यसम्ममा लगाउनुपर्छ । त्यसको आफ्नै इतिहास छ । त्यो इतिहास दर्शकले यो फिल्ममा हेर्न पाउनुहुन्छ ।’

निर्माता खातीले फिल्ममा काजीकी छोरी र कालीगढको छोराको प्रेमलाई पनि हेर्न पाउने खुलाए । ‘फिल्ममा वनावटी केही छैन । सबै वास्तविक कथा हो’, नारायण भन्छन् ।
सानैदेखि कलाकारितामा रुची राख्ने नारायणको आफ्नै युट्युब च्यानल छ । त्यही च्यानलमा उनले निर्माण गरेका सिरिज छन् । निर्देशक राजु गिरीसँग सिरिजकै काम गरिरहँदा नारायणको भेट भएको रहेछ । ‘मेरो सिरिजमा उहाँले निर्देशन गर्नुहुन्थ्यो । उहाँलाई फिल्म बनाउने चासो देखाएपछि ‘म गरिदिन्छु’ भन्नुभयो । सँगै काम गरिरहेको मान्छेसँग काम गर्न सजिलो हुन्छ भनेर राजुजीसँग सहकार्य गरें’, नारायणले भने ।

एउटै फिल्ममा आफैं निर्माता र कलाकार रहँदा निकै चुनौती अनुभव भएको नारायणले सुनाए । ‘निर्माताका रुपमा मेरो पहिलो फिल्म हो । निर्माता र कलाकार दुवै अनुभव बटुलें । तनाव धेरै हुँदो रहेछ । फिल्ममा ठूलै पैसा लगानी भएको छ’, नारायण भन्छन्, ‘काममा कोही पनि कलाकारले कम्प्रोमाइज गर्नुभएन ।’

नारायण अझैं फिल्म बनाउन चाहन्छन् । त्यो चाहना भने ‘नम्बरी सुन’ले पुरा गर्नुपर्ने उनको बुझाई छ । ‘नम्बरी सुनले लगानी उठाउनेमा आशावादी छु । यो फिल्म रिलिजपछि लगानी रिटर्न गर्छ भन्नेमा ढुक्क छु । लगानी रिटर्न गरेपछि मात्र अरु फिल्म बनाउने योजना छ’, नारायण भन्छन् ।

नारायणका अनुसार दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठका दाजु मीनकृष्ण श्रेष्ठ उनका साथी हुन् । ‘मीनकृष्णको टिमले कोहिनूर बनाएपछि त्यो फिल्ममा सानो भूमिकामा अभिनय गरें । श्रीकृष्णको निधन नभएको भए त्यो टिमसँग मिलेर अहिलेसम्म मैले झण्डै चारवटा जति फिल्म निर्माण गरिसक्थें’, उनी भन्छन् ।

फिल्म ‘कोहिनूर’ सुटिङका समयमा श्रीकृष्णका दाजु मीनकृष्णसँग नारायणको फिल्म बनाउने सल्लाह पनि भएको रहेछ । ‘मीनजीले ‘नारायणजी हामी मिलेर एउटा फिल्म बनाउनुपर्छ’ भन्नुभएको थियो । मैले ‘हुन्छ । म २५ देखि ३० प्रतिशत लगानी गर्छु’ भनेर वचन पनि दिएको थिएँ । तर श्रीकृष्णको निधनपछि सबै कुरो तितरवितर भयो’, नारायण सम्झन्छन् ।