प्याब्सन लिटिल आइडल २०२४ को घोषणा

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले प्याब्सन लिटिल आइडल २०२४ को खोजी सुरु गरेको छ ।सोमबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताकोयो १३औं संस्करण हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई २०८१ भदौ १गतेदेखी प्रशिक्षण सुरु गरी भदौ २२ गते शनिबार अन्तिम प्रतिष्पर्धा गराइने छ ।

प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एकवर्षको छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण दिनुहुने छ भने अन्य विभिन्न विधाका विशेषज्ञहरुबाट समेत प्रशिक्षण दिइने छ ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष एवं वरिष्ठ साहित्यकार प्रेमकुमार राईले शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधीका कारण आवश्यक विषयमा छात्राहरुलाई दक्ष बनाउन र उनीहरुमा निहित प्रतिभा प्रस्फुटन, आत्माविश्वास एवंव्यक्तित्व विकासका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले आठदेखी १३ वर्ष उमेर समुहका विभिन्न विद्यालयमाअध्ययनरत कक्षा चारदेखी कक्षा आठसम्मकाछात्राहरुको क्षमता अभिवृद्धीर उनीहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्न कार्यक्रम राम्रो प्लेटफर्म भएकाले सबै विद्यालय तथा अभिभावकलाई सहभागीताका लागि आवह्न गरिन् ।

एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले प्रतियोगितामा सहभागी सबै छात्राहरुलाई उत्साहित गर्न र उनीहरुमा निहित क्षमता एवं दक्षता अभिवृद्धिका लागि उनीहरुको प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधी एवं ट्रफीसहित सम्मान गरिदै आएको जानकारी दिए । ‘यसले छात्राहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्नुका साथै प्रतिष्पर्धाको भावना जागृत गराउने विश्वास लिएका छौं’, अध्यक्ष राईले भने ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सुर्य भण्डारी, सचिव सुदर्शन थापा, सहसचिवहरु अनिल पराजुली,ओमप्रसाद ढकाल, कृष्ण भण्डारी स्काई, कोषाध्यक्ष आरबी अधिकारीलगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सहसचिव ढकाल प्याब्सन लिटिल आइडल २०२४ का सहसंयोजक पनि हुन् ।