नमेटिने घाउमा प्रधानमन्त्री ओलीको डबिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘‘नमेटिने घाउ’को डबिङ गरेका छन् । उनले शनिबार अनामनगरस्थित द म्युजिक इरा रेकडिङ स्टुडियोमा पुगेर आफ्नो दृश्यको डबिङ गरेका हुन् । फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

अभिनेता रमित ढुङ्गानाको निर्माण र निर्देशन रहेको सत्य घटनामा आधारित फिल्ममा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । नेपालले केही दिन अगाडि आफ्नो दृश्यको डबिङ गरेका थिए ।

प्रधानमन्त्री ओलीको डबिङसगै रिलिज मितिसमेत तय भएको छ । फिल्म भदौ ७ गते बाट देशभरिका सिनेमा घरमा प्रदर्शनमा आउने निर्देशक ढुङ्गानाले जानकारी दिए ।

फिल्म एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्म एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।

फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।
रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।