माइलीमा प्रियंका र कमला आमाछोरी

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको फिल्मको मुहुर्त फिल्मका कलाकार र प्राविधिकको उपस्थितिमा मुहुर्त गरिएको हो ।

फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय हुनेछ ।

मुहुर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।
मंगलबारबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।