बुलाकी ट्रेलरमा सुरक्षाको पीडा

काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले फिल्मको ट्रेलर रिलिज गरेको हो ।

एकसाथ धेरै फिल्म रिलिज हुँदा गतवर्ष प्रदर्शनको दोस्रो दिनमा नै निर्माताले यो फिल्मलाई अर्को मितिमा प्रदर्शनमा ल्याउने बाचासहित हलबाट बाहिर निकालेका थिए । फिल्मको सार्वजनिक ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ । ट्रेलरले फिल्मलाई नारीप्रधान बुझाउँछ ।

राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् । ट्रेलर हेरोसकेपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए ।

बुलाकी कर्णाली र देशकै गहना रहेको भन्दै खड्काले यसको छुट्टै सांस्कृतिक महत्व रहेको बताए । ‘यो फिल्मले संस्कृती, संस्कार रितिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कलासंस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो, यो प्रकारको कथा उथान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछुु, खड्काले भने । कलाकारहरूको भुमिका प्रशंसनीय भन्दै अभिनेत्री सुरक्षा पन्तको तारिफ गरे ।

समाजका विभिन्न विधामा परिचीत अनुहार मात्र खोज्ने प्रवृत्ति बढेको भन्दै खड्काले नयाँ कलाकार हुने फिल्म पनि राम्रो हुनसक्ने भन्दै स्टार र स्टारडमको मात्र पछि नलाग्न कटाक्ष गरे । अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिड्दा मात्र सफलता सम्भव हुने भन्दै ‘बुलाकी’को यो दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन् ।

शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।