गोदावरीबाट घर नम्बर २को छायांकन सुरु

काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । फिल्मको छायांकन गोदाबरीबाबट सुरु गरिएको निर्माणपक्षको भनाई छ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।

भोलिबाट फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो । शुभसाइत समारोहमा फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए । फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ ।

सामाजिक बिषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा वुद्दिसागरको लेखन छ ।

फिल्म ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिदैछ । फिल्मको काठमाडौंमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ । फिल्मलाई यसै बर्ष रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।