एन्जललाई मिस मंगोल उपाधि

काठमाडौं । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘प्रभु बैंक मिस मंगोल नेपाल २०२४’ को उपाधि खोटाङकी २३ वर्षिया एन्जल राईले जितेकी छन् । नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा रिडी ग्रुपको प्रस्तुती रहेको प्रतियोगितामा उनले ‘मिस ट्यालेन्ट’को उपाधीसमेत हात पारिन् ।

शीर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी स्नातक अध्ययनरत एन्जलले अब प्रभू बैंक, नेपाल आदिवासी जनजाती महासंघ, रिडी ग्रुप लिमिटेड एवं नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दुत भई काम गर्ने अवसर समेत पाएकी छन् ।

प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु सेकेन्ड रनरअप हुन सफल भएकी छन् । स्नातक अध्ययनरत २१ वर्षिया लिम्बुले ५० हजार रुपैयाँ पुरस्कार पाएकी छन् । त्यसैगरी बाराकी १७ वर्षिया शाहिशा राईले ‘मिस मंगोल मधेश’सहित सेकेन्ड रनरअपको उपाधि चुम्न सफल भएकी छन् । शाहिशाले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

वरिष्ठ चलचित्र निर्देशक एवं अभिनेता नीर शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा संस्कृतिविद डा. भक्त राई, हास्य कलाकार मनोज गजुरेल, पूर्व मिस मंगोल जाङमु इन शेर्पा, शिक्षासेवी एवं प्याजेन्ट कोज पूर्ण लामा र स्टाफ कलेज पुल्चोकका डेपुटी डाइरेक्टर शिवहरी अधिकारी निर्णायकका रुपमा रहेका थिए।

प्रभु बैंको शीर्ष प्रायोजन रहेको प्रतियोगितामा मिस मंगोल कोशी मिश्रा राई (भोजपुर), मिस मंगोल बागमती मञ्जु तामाङ (रामेछाप), मिस मंगोल गण्डकी स्मारिका थापा (पूर्व नवलपरासी), मिस मंगोल लुम्बिनी काजोल थारु (बर्दिया), मिस पर्सनालिटी मेन्दा ल्याह्मु शेर्पा (शंखुवासभा)घोसित भए । आइआइएफटीले तयार पारेको पहिरन र एसिका एकेडेमीको मेकअप तथा हेयर स्टाइलमा प्रतियोगीहरु मञ्चमा देखिएका थिए ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पूर्वमुख्यमन्त्री शेरधन राई, प्रभु बैंकका सीईओ अशोक शेरचन, आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, रिडी ग्रुप लिमिटेडका अध्यक्ष मानबहादुर बुढा, रिद्धी सिद्धी ज्वेलर्सका अध्यक्ष केदारनाथ गुप्तालगायतले प्रतियोगीलाई शुभकामनासहित शास तथा ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्ता प्रतियोगिताले लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र आफ्नो संस्कार संस्कृति संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मिस मंगोल नेपालको यो १४औं संस्करण हो।