मृत्युकोशको शीर्ष गीत रेकर्ड

काठमाडौ । फिल्म ‘मृत्युकोश’को शीर्ष गीत ‘बेवारिशे हुनु पर्ने लासै हुँदा पनि’ रेकर्ड गरिएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बाल्मिोरमा उक्त गीतको रेकर्ड भएको फिल्मको निर्माता कमला जोशीले बताएकी छिन् । गीतमा प्राडा कृष्णहरि बरालको शब्द, संगीतकार सन्तोष श्रेष्ठको संगीत र गायक रुद्र शेखर शर्माको स्वर छ । शर्माको यो डेब्यु पाश्र्व गायन हो ।

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त फिल्ममा माधब राज खरेलको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेललगायतको अभिनय छ ।

काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानहरुमा पहिलो चरणको छायाँकन गरिएको थियो । फिल्ममा मुकेश हुमागाईंको छायांकन छ । उनलाई राजन खरेलले छायांकनमा साथ दिएका छन् । उक्त फिल्ममा बिक्रम गौतमको मेकअप रहेको छ । फिल्मको दोश्रो चरणको छायाँकन भने भाद्र महिनाको दोश्रो साताबाट गरिने निर्माण पक्षले जनाएको छ ।

फिल्मको शिर्ष गीत ‘बेवारिशे हुनु पर्ने लासै हुँदा पनि’को संगीत संयोजन संगीतकार राजेन्द्र बजगाई गरेका हुन् भने अर्को डि आर राईद्धारा रचित र सन्तोष श्रेष्ठको संगीत रहेको “भुल भुलैया” बोलको गीतको संगीत संयोजन भने शाहास शाक्यले गरेका छन् ।

एक जना मानिसले आफ्नो जिवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई फिल्ममा उठान खोजिएको छ । ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेकोे फिल्म चिट्ठी पनि प्रदर्शनको तयारीमा छ ।