कृषाको प्रश्नः को हो पिताम्बर ?

काठमाडौं । निर्देशक कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाँदैछ । छायांकनमा जानुअघि फिल्मको वर्कसप भइरहेको छ ।

छायांकनमा जाने तयारी भइरहेको बेला निर्देशक कृषाले प्रदीप खड्का र सौगात मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छन् । उनले सौगात र प्रदीप दुई मध्ये पिताम्बर को हो ? भन्ने प्रश्न गरेकी हुन् । दुवै उत्तिकै सबल र स्टारडम भएकाले ुपिताम्बरुको मुख्य पात्र ‘पिताम्बर’को हो ? भन्नेमा कौतुहलता छ । यो कौतुहलतालाई जोगाउने प्रयास निर्माण टिमले गरिरहेको छ ।

हालसम्म फिल्मको मुख्य पात्र सौगात वा प्रदीपमा को हो ? भन्ने निर्माण टिमले लुकाएको छ । यसलाई निरन्तरता दिने निर्देशक चौलागाईंले बताएकी छन् । फिल्ममा सौगात र प्रदीपका अलवा आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ ।

फिल्म पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै भएको थियो । फिल्मको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन भएको थियो । अभिनेता प्रदीप खड्का र सौगात मल्ल फिल्मको दोस्रो सेड्युलमा जोडिएका छन् । फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । फिल्मको निर्मातामा विशाल चौलागाईं छन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्म निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।