१२ गाउँको एक्सन प्याक्ड टिजर

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट रिलिज हुने फिल्मको एक्सन प्याक्ड टिजर शुक्रबार रिलिज गरिएको हो ।

अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने फिल्मको १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजर हेर्दा फिल्मले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको टिजरमा फिल्मका अधिकांश कलाकार अँटाएका छन् ।

टिजरमा योद्धाको रुपमा देखिएका समीरको संवाद समावेश गरिएको छैन् । यो उनको डेव्यु फिल्म हो । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो फिल्मबाट आफुलाई एक्सन हिरोको रुपमा चिनाएका छन् ।

फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

फिल्ममा तमिल तथा कन्नड फिल्म द्वन्द्व निर्देशक स्टन्ट सिल्भाको द्वन्द्व, महेश पौडेलको छायांकन छ । काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा छायांकन गरिएको फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।