वर एण्ड वधु ट्रेलरमा कमेडी, प्रेम र धोका

काठमाडौं । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर आज सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो ।

सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ ।

फिल्म ‘वर एण्ड वधु’को ट्रेलरमा विशेषगरि, आँचल र विवेकबिचको रोमान्स, लभ, धोका देखाइएको छ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै कलाकार किरण केसीले आफूले काम गरेका एक सय बढी फिल्ममध्ये यो फिल्म एक–दुई नम्बरमा पर्ने बताए ।

यस्तै, निर्देशक मिलन चाम्सले पनि फिल्म दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । नायक विवेक कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै सबै खालको भूमिका निर्वाह गर्न सहज लागेको तर्क गरे ।

नायिका आँचल शर्मा फिल्म ‘वर एण्ड वधु’ दर्शकका लागि विशेष खुराक हुने बताइन् । फिल्मको ट्रेलरमा उच्च क्यानभास देखाइएको छ । नेपाल र रोमानियाको लोकेशनमा खिचिएको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।