संगीत खोज्दै अनमोलको जेरी अन टप

काठमाडौं । अभिनेता अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अन टप’ फ्लोरमा जानको लागि तयार छ । वर्कसपसँगै लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो फिल्मको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनीले आवेदन आह्वान गरेको छ ।

सुन्दर सांगीतिक धुनबीना हरेक प्रकारका प्रेमकथा अपुरो हुने भन्दै निर्माण कम्पनी अनन्या फिल्मस्ले यो फिल्मको थिममा रहेर संगीत तयार गर्न चाहनेहरूको लागि अवसर प्रदान गर्दै सार्वजनिक आह्वान गरेको हो ।

इच्छुक जो कसैले पनि ‘जेरी अन टप’को प्रेमिल पृष्ठभुमिमा रहेर संगीत तयार गरि यहि भदौ मसान्तसम्म अनन्या फिल्मस्को इमेलमा पठाउन सकिने निर्माता सरोज न्यौपानेले बताए । न्यौपानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रतिभावान जो कसैसँग पनि सहकार्यको लागि तयार रहेको उल्लेख गरेका छन् । यो फिल्ममा कालिप्रसाद बाँस्कोटा, रिकेश गुरुङ र जोहन चाम्लिङ राई सांगीतिक डिपार्टमेन्टमा छन् ।

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ प्रमुख अभिनयमा रहनेछन् । यो फिल्मको निर्माणमा न्यौपानेसँग दीपक भण्डारीले सहकार्य गरेका छन् । फिल्म उपत्यकामा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण अधिकार लिएको छ ।