ज्वाइँ साब टिजरः को बन्ला ज्वाइँ ?

काठमाडौं । फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ ।

रमाइलो तरिकाले निर्माण गरिएको यो फिल्मको टिजरमा मुख्य कलाकार जितु नेपाललाई देखाइएको छ । उनको साथमा फिल्ममा नायिका नीति शाहको मुख्य भूमिका छ । नीतिलाई भने हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ ।

मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्मका निर्देशक बसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

फिल्ममा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ । राजकुमार पण्डितको प्रस्तुतीमा तयार भएको फिल्मले दशैंमा दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने दाबी निर्देशक निरौलाको छ ।