काठमाडौं । फिल्म निर्मात्री एवम् गीतकार छिमी मम्बा तामाङ थोरै तर पृथक र स्तरिय काम गर्न रुचाउँछिन् । यिनै छिमीद्वारा रचित पछिल्लो गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा उत्तरी धादिङको पर्यटकीय स्थल रुबी भ्यालीको सचित्रण गरिएको छ ।
छिमी मम्बाको शब्द, गायक देवराज आले मगरको संगीत र तारा श्रीस मगरद्वारा स्वरवद्ध ‘हाम्रो रुबी भ्याल्ली’बोल गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । यो भिडियो गीतकार तथा निर्मात्री छिमी मम्बाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यस गीतमा गणेश हिमालको काखमा रहेको पर्यटकीय आकर्षणको केन्द्र रुबी भ्याली र त्यस क्षेत्रको पर्यटकीय एवं धार्मिक र सांस्कृतिक पक्षलाई जिवन्त रुपमा चित्रण गरिएको छ ।
रुबी भ्यालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको उक्त भिडियो हेर्दा जोकोहीको मन लोभिन्छ । रोशन फ्युबा तामाङको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा रञ्जिता तामाङका साथै गीतकार छिमीले पनि अभिनय गरेकी छन् ।
रुबी भ्याली उत्तरी धादिङको एउटा गाउँपालिका हो । बहुमुल्य रुबी ढुंगा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र तिप्लिङ गाविसलाई समेटेर ‘रुबी भ्याली’नाम राखेर गाउँपालिका बनाइएको छ । रुबी भ्याली काठमाडौंसँग जोडिएको भए पनि ओझेलमा छ ।
रुबी भ्याली गाउँपालिका र त्यस क्षेत्रको पर्यटकीय, धार्मिक, सांंस्कृतिक तथा सामाजिक सद्भाव र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले निर्मित यस गीतमा ‘म्हेन्दोमाया’ भाकालाई पनि समेटिएको छ । ‘म्हेन्दोमाया’ धादिङ र रसुवाका तामाङ समुदायको मौलिक लोकभाका हो ।
छिमीले तामाङ भाषाका फिल्म निर्माण गर्दै आफ्नो समुदायको कला, संस्कृतिको प्रवद्र्धन गर्दै आएकी छन् । उनी निर्मित पछिल्लो फिल्म ‘प्रङना’अर्थात ‘गरिब’ले केही दिनअघि मात्र ‘२९औँ तामाङ चलचित्र प्रदर्शन दिवस’को अवसरमा आयोजित कार्यक्रममा ‘सर्वाेत्कृष्ट चलचित्र’को अवार्ड प्राप्त गरेको थियो ।