पोखरेलीलाई नितेशका गीत

काठमाडौं । गायक नितेश जंग कुँवरले पोखरामा यही शुक्रबार आफ्नो प्रस्तुती दिने भएका छन । झण्डै डेढ वर्षपछि नितेश सार्वजनिक रुपमा आफ्ना गीत पोखराका दर्शकलाई सुनाउन लागेका हुन् ।

नितेश पोखरास्थित लेकसाइडमा रहेको किङ्ग्स लाउन्जमा गुञ्जिदैछन् । यो कार्यक्रममा नितेशसँगै समृद्धि राईको पनि प्रस्तुती रहनेछ ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आयोजना गर्न लागेको कार्यक्रममा नितेशले ‘फ्लर्टी माया’, ‘म पागल’, ‘माया सस्तो’, ‘सम्हाली राख न’, ‘खोलै खोला’, ‘हितैको माया’लगायतका आफ्ना चर्चित गीत सुनाउनेछन् ।

नितेश यतिबेला उनको इपी ‘जेमिनी’को तयारीमा छन् । ‘जेमिनी’ सार्वजनिक गरेपछि उनी यसै वर्ष युरोप टुरको तयारी गर्दैछन् ।

पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । पीभीई नेटवर्कका अनुसार पोखरामा नितेशको कार्यक्रम हुने निश्चित भएपछि उनका फ्यान उत्साहित भएका छन् । नितेशको कार्यक्रम हाउसफूल हुनेमा उनीहरु ढुक्क छन् ।