१९ वर्षपछि शाहरुख र रणवीरको बक्सअफिस भीडन्त

मुम्बई(एजेन्सी) । अभिनेता शाहरुख खान र रणवीर कपूर बलिउडका दुई यस्ता अभिनेता हुन्, जसको अभिनयबाट जोकोही प्रभावित छन् । यी दुई अभिनेता विशेषत महिला फ्यानमाझ निकै लोकप्रिय छन् ।

रणवीरले सन् २००७ मा फिल्म ‘सावरिया’बाट बलिउडमा डेब्यू गरेका थिए । उनको फिल्म रिलिजकै दिन शाहरुखको फिल्म ‘ओम शान्ति ओम’ पनि प्रदर्शनमा आएको थियो । अब यी अभिनेताको बक्सअफिस भेट १९ वर्षपछि पुनः हुँदैछ ।

सन् २०२६ मा इदको अवसर पारेर रणवीर र शाहरुख बक्सअफिसमा भिड्न लागेका हुन् । फिल्म ‘सावरिया’मा सञ्जय लीला भन्सालीकै निर्देशन थियो । सन् २०२६ मा रिलिज हुने रणवीरको फिल्म ‘लव एण्ड वार’ पनि सञ्जयकै निर्देशन छ । यही फिल्मसँग शाहरुखको फिल्म ‘किंग’ पनि प्रदर्शनमा आउँदैछ ।

‘किंग’मा शाहरुख डनको भूमिकामा देखिँदैछन् । ‘पठान’ र ‘जवान’को सफलता पछि शाहरुखको ‘किंग’ पनि सफल हुनेमा फ्यानहरु ढुक्क छन् । यही बीचमा रिलिज भएको शाहरुखको ‘डंगी’ले भने सोचे जस्तो सफलता पाउन सकेन । सुजाय घोषको निर्देशन रहने फिल्ममा शाहरुख पुत्री सुहानाको पनि अभिनय हुनेछ ।

फिल्म ‘लव एण्ड वार’मा रणवीरका अलावा विक्की कौशल र आलिया भट्टको पनि अभिनय रहनेछ ।