जेरी अन टपमा सुरक्षा

काठमाडौं । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरी अन टप’ अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको छ ।

निर्माता सरोज न्यौपानेले फिल्ममा पन्त अनुबन्ध भएको पुष्टि गरेका छन् । ‘महत्वपूर्ण भुमिकाको लागि सुरक्षाजी जेरी अन टपमा अनुबन्ध हुनुभएको छ’, न्यौपानेले भने,‘उहाँको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।’

यो फिल्मको प्रमुख कलाकारमा अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ यसअघि नै अनुबन्ध भइसकेका छन् । कास्टिङ लाइनअपले फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको छनक दिन्छ । वर्षमा एक दुई फिल्म मात्र गर्दै आएका अभिनेता अनमोलले यो फिल्मको स्कृप्टलाई यसअघि नै उत्कृष्ट बोल्दै आएका छन् । ‘फर्की फर्की’पछि पर्दामा आउन लागेका अनमोल यतिबेला यो फिल्मको लागि पात्र सुहाउँदो अभिनयको लागि मेहनतमा व्यस्त छन् ।

निर्माता न्यौपानेले नेपाली फिल्ममा हालसम्म पर्दामा नदेखिएको कथावस्तुमा आफ्नो फिल्म निर्माण हुन लागेको भन्दै पछिल्लोक्रममा नेपाली दर्शकले रुचाउँदै आएको परिवेशमा फिल्म निर्माण हुने बताए ।

नेपाली फिल्मवृत्तमा संभावनावान निर्देशकमा गनिएका ‘फर्की फर्की’ निर्देशक गुरुङले अघिल्ला फिल्मबाट नै आफुलाई प्रमाणित गरिसकेका छन् । गुरुङ र अनमोलसँगको दोस्रो सहकार्यले नेपाली रजतपटमा नयाँ आयाम दिने विश्वास निर्माण टिमको छ । ‘जेरी अन टप’को निर्माणमा अनन्या फिल्मस्ुसँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् ।

‘जेरी अन टप’को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । यो फिल्म काठमाडौँ,लुक्ला र बलिउडको ब्लकवस्टर फिल्म ‘थ्री इडियट्स’ छायांकन स्थल लद्धाखलगायतका स्थानमा खिचिँदैछ ।